चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज मंगलवार विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे ।
राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

