काठमाडौं। नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले वैशाख १० को उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराए। सोमबार निर्वाचन कार्यालय पुगेर नेकपा एमालेको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन्।
एउटै ब्याची र आईजीपी बन्न खनाल नै बाधक बनेका पूर्वडीआईजी रमेश खरेल बारा-२ बाट उम्मेदवारी दिएर संसद् छिर्ने तयारीमा छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका छन्।
प्रहरी संगठनमा एउटै ब्याची भएजस्तै यी दुईको समानता राजनीतिमा पनि छ। प्रहरीका पूर्वहाकिम खनाल र खरेल दुवै गएको मंसिर ४ को निर्वाचनमा काठमाडौंबाट पराजित हुन्। पूर्वप्रहरी महानिरीक्षक खनाल काठमाडौं ६ बाट र पूर्वनायव महानिरीक्षक खरेल काठमाडौं-१ बाट पराजित भएका हुन्।
संघीय राजधानीमा पराजित भएका खनाल र खरेल पाँच महिनापछि पुनः उम्मेदवार बन्दै चुनाव जितेर संसद् छिर्ने तीव्र महत्त्वाकांक्षामा छन्। पूर्व आईजीपी खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग र खरेल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।
काठमाडौं-६ का एमाले उम्मेदवार खनाल निकटतम प्रतिस्पर्धी थिए, तर मतान्तर भने धेरै थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ हजार २२१ मत ल्याएर विजयी हुँदा खनालले ८ हजार ९१७ मत मात्रै पाएका थिए।
काठमाडौं-१ मा खरेलले मतको आधारमा चौथो स्थान पाएका थिए । उनले ३ हजार १२४ मत मात्रै पाए। उनीभन्दा बढी विजयी भएका सिंहसँगै राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र एमालेका किरण पौडेलले मत ल्याएका थिए।
यसपटक खरेलले आफ्नो पार्टीबाट नभई अर्कैको पार्टी र चुनाव चिन्हमा निर्वाचन लड्न लागेका हुन्। उनले रास्वपाको घण्टी चुनाव चिह्न लिएर बारा क्षेत्र नं. २ मा प्रतिस्पर्धा गर्दैछन्। यो क्षेत्रमा रास्वपाको मत कमजोर अवस्थामा छ। त्यसमाथि मधेसवादी पार्टीहरू जसपा, जनमत र एमालेसँग उनले प्रतिस्पर्धा गर्नुपर्नेछ। जसपालाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र लोसपाले समर्थन गर्नेछ।
यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। त्यसैगरी, एमाले नेता पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा पनि बलिया दाबेदार मानिन्छन्। सप्तरीमा पराजित भएका यादव यहाँबाट जसरी पनि जित्न चाहन्छन्।
त्यसैगरी, माओवादी नेता कुशवाहा पार्टीले टिकट नदिने देखेरै जनमत प्रवेश गरेर उम्मेदवार भएकाले उनलाई पनि जित्नैपर्ने अवस्था छ।
यहि चेपुवामा रहेका पूर्व प्रहरीका खरेल पनि यहाँबाट जितेर संसद छिर्ने दाउमै छन्। तर, उनका लागि सहज बाटोचाहिँ यो नहुन सक्छ।
रास्वपाको जनस्तरमा भएको मतभन्दा पनि पार्टीको लोकप्रियता र रमेश खरेल मधेसमा हुँदा ‘सिंघम’ शैलीमा काम गरेको कुरालाई चुनाव जित्ने हतियार बनाउन खोजेको रास्वपाले यहाँबाट जित निकाल्ने अवस्था निकै कमजोर छ। यद्यपि, रास्वपाले चितवन, तनहुँ र बारामा ‘क्लिन स्विप’ अभियान नै चलाउने बताएपछि अन्य उम्मेदवार पनि झस्केका छन्।
उता अंक गणित मात्रै हेर्ने हो भने तनहुँमा पनि खनालको लागि सहज देखिन्न। राष्ट्रपति रामचन्द्र पौडेलले जितेको यो क्षेत्रमा कांग्रेसको मत राम्रो छ। झण्डै २० हजार समानुपातिक मत पाएको कांग्रेसले भद्र र इमान्दार नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। उनी तुलनात्मक हिसाबले कसैलाई नबिझाउने उम्मेदवार हुन्।
त्यसैगरी, खनाललाई जित निकाल्न नदिने अर्को चुनौती हुन् अर्थविद् डा.स्वर्णिम वाग्ले । नेपाली कांग्रेसबाट टिकट नपाउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी उम्मेदवार बनेका डा. वाग्लेलाई जित्ने उम्मेदवारको रूपमा हेरिएको छ। यहाँ पनि रास्वपाले वाग्लेको छवि र पार्टीको लोकप्रियताको बलमा मात्रै चुनाव जित्ने ग्यारेन्टी भएको दाबी गर्दै आएको छ।
तनहुँमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समेत मत भट्टराईले पाएमा उनी र वाग्लेका बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ।
प्रहरीमा रहँदा जनतासँग नजिक भएर काम गरेको आधारमा चुनाव जित्छु भन्ने विश्वास उनीहरूमा हुनु स्वाभाविक भए पनि जनमतको आधारमा सुखद चुनावी नतिजा निकाल्न थप मेहनत जरुरी देखिन्छ।

