नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकारले जनतालाई भरोसा दिलाउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलमलमा देखिएको टिप्पणी गरेका छन् ।
उनले पार्टीलाई बिर्सेर प्रधानमन्त्रीजस्तो बनेर काम गर्न प्रचण्डलाई सुझाव दिए ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले औपचारिक कार्यक्रममा गएर समय बर्बाद नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
‘प्रधानमन्त्रीको काम कारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिन्छ । केही कार्यक्रममा मलाई बोलाउँदा मैले भ्याउँदिनँ भनें । आयोजकले प्रधानमन्त्रीलाई फुर्सद हुने तँलाई नहुने भनेपछि म बाध्यताले गएको छु,’ थापाले भने, ‘उद्घाटनमा जान भ्याइएको छ, सम्मेलनमा जान भ्याइएको छ ।’
महामन्त्री थापाले आफूहरू सरकारलाई भोट हाल्ने सांसद मात्र नभएको भन्दै परिणाम खोज्ने बताए ।
‘प्रधानमन्त्रीले चुस्त टीम बनाउनु पर्छ । गठबन्धनसँग महिनामा एक दिन बसे हुन्छ । दल बिर्से हुन्छ । प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गरे हुन्छ,’ थापाले भने, ‘जनता यति धेरै निराश छन् । प्रधानमन्त्रीले भरोसा दिलाउनुपर्ने हो । यसका लागि काम गर्ने शैली बदल्न जरुरी छ ।’

