राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफ्ना सवारी चालकको दुर्घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
चालक शम्भु थापाको दुर्घटना सम्बन्धमा सोमवार अपरान्ह सामाजिक सञ्जालमा सन्देश लेख्दै रविले चोट लागेको बेला नुन चुक बोकेर नआउन आग्रह गरेका हुन् ।
‘मेरो गाडी चालक छतबाट खसेर दुर्घटनामा पर्नु भयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ’ रविले लेखेका छन्, ‘यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछ । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला ।’
रवि बसेकै घरमा सुतेका चालक थापा सोमवार बिहान तीन तले घरको छतबाट खसेर घाइते भएका छन् । उनको दुर्घटनापछि रवि आज राजनीतिक कायक्रममा सहभागी भएका छैनन् ।
घटना भएको १२ घण्टापछि उनले फेसबुकमा लेखेका छन् ‘स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछोप्नुहोला ।’

