नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरका मेयर बालेन साहले संविधान मिच्ने र आफ्नो कर्तव्यविपरीतको काम गरिरहेको आरोप लगाएका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नुवाकोटबाट प्रत्यक्ष निर्वाचित सांसद तामाङले काठमाडौंका मेयरले आफ्नो सीमा नाघेर काम गरिरहेको आरोप लगाएका हुन् ।
‘काठमाडौंका मेयरले हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने गैरउत्तरदायी भूमिका निर्वाह गरेका छन्,’ तामाङले भने, ‘चैत ११ गते नदीको किनारमा रहेका अनधिकृत बसोबास हटाउन निर्देशन दिएको सूचना प्रकाशित गरे, त्यो आफैंमा संविधानविरोधी कुरा थियो । सुकुम्बासीको समस्या संघ, प्रदेश र स्थानीय तहको समन्वयमा समाधान गर्ने संविधानको व्यवस्था हो ।’
काठमाडौंका मेयरले सिंहदरबारको फोहोर नउठाउने र उठाउने संस्थाको इजाजतपत्र खारेज गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा उनले आपत्ति जनाए ।
महानगरले स्थानीयवासीसँग गरेको सम्झौताअनुसार सिसडोलमा काम नगरेको भन्दै उनले संसदीय छानबिन समिति गठनको माग गरे ।

