पोखरा- तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मतदान जारी छ। ६९ मतदानस्थलका १५२ मतदानकेन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
‘सबै ठाउँमा मतदान भइरहेको छ’, उनले भने, ‘२० प्रतिशत मत खसेको अनुमान छ।’
बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।
तनहुँ १ मा १ लाख २३ हजार ३५० मतदाता छन्। गएको मंसिर ४ मा भन्दा १८५ मतदाताको संख्या घटेको हो ।
तनहुँको व्यास नगरपालिकाको ५ र ६ बाहेकका १२ वटा वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदानमा गरिरहेका छन्। यो क्षेत्रमा ४२ वडा पर्छ।
मंसिर ४ मा भएको उपनिर्वाचनमा विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। चुनावी मैदानमा ९ जना छन्।
पृथ्वीराजमार्ग पूर्णरूपमा बन्द छ।
मतदान सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ। मतगणनास्थलमा तारजाली र सिसीक्यामेरा जडान गरिएको छ।

