राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट फेरि शानदार मतसहित निर्वाचित भएका छन् ।
४ मंसिरमा ३४ हजार ३१२ मत ल्याएर विजयी भएका रवि ५ महिनालगत्तैको उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् ।
उपनिर्वाचनमा रविले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४३ हजार ६२ मतान्तरले पछि पारे ।
श्रेष्ठले ११ हजार २१४ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए ।
मंसिर ४ मा यही क्षेत्रबाट कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
तर, रविले झन् बढी मत ल्याएर विजयी हुँदा कांग्रेस र एमालेका दुवै स्थानीय उम्मेदवारले पहिलेको जति पनि मत ल्याउन नसकेका हुन् ।