१४ पटककाे विजेता स्पेनिस रियल म्याड्रिडलाई समग्रमा ५–१ गोल अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लीगको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटी रियललाई ४–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । सिटीकाे याे तीन वर्षमा दाेस्राे फाइनल हाे ।
पहिलो लेग १–१ गोल बराबरी भए पनि दोस्रो लेगमा आफ्नै इत्तेहाद स्टेडियममा सिटी शानदार लयमा देखियाे । यस अघि २०२०/२०२१ को सिजनमा फाइनलमा पुगे पनि सिटी चेल्सीसँग १–० गोलले पराजित हुँदै उपाधिविहीन बन्न पुगेको थियो । यसपटक च्याम्पियन्स लिगको राजा रियललाई सहजै पाखा लगाएकाे सिटीले उपाधिका लागि इटालीकाे इन्टर मिलानसँग खेल्नेछ ।
फाइनल आगामी १० जुनमा टर्कीको इन्तानबुलमा हुनेछ ।
रियललाई सहज जित दिलाउने क्रममा सिटीले पहिलो हाफमा एकपक्षीय उच्च प्रदर्शन गर्दै २–० को अग्रता लियो । २३ र ३७ औं मिनेटमा पोर्चुगिज बर्नान्डो सिल्भाले दुवै गोल गरे ।
दोस्रो हाफमा सिटीमाथि दबाब बढाउन खोजे पनि रियल सफल भएन । सिटीको दबाब थेग्न नसक्दा ७६ औं मिनेटमा रियलका म्यानुअल अकान्जीले बल क्लियर नसक्दा आत्मघाती गोलको सामना गर्नुपर्यो । याे गाेलपछि रियलकाे खेलमा फर्कने बाटाे अन्त्य भयाे ।
अर्लिङ हालान्डको सट्टामा ८९ औं मिनेटमा मैदान छिरेका जुलिएन अल्भारेजले ९१ औं मिनेटमा गोल गर्दा सिटीले सहजै ४–० को जित दर्ता गरेको हो ।
हालान्डका तीनवटा प्रहारलाई रियलका गोलकिपरले कोर्टवाले उत्कृष्ट बचाउ गर्दा सिटी थप गोल बढाउनबाट चुकेको थियो ।
इन्टर मिलान एसी मिलानलाई समग्रमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
विश्वकप फुटबलका विजेता टोली अर्जेन्टिनाका लाउटारो मार्टिनेज र जुलिएन अल्भारेज मध्ये एकले च्याम्पियन्स लिग पनि जित्ने पक्का गरेका छन् ।
इन्टर मिलानले अहिलेसम्म तीनपटक च्याम्पियन्स लीगको उपाधि जितेको छ । अन्तिमपटक २०१० मा इन्टरले यो उपाधि जितेको थियो । त्यसअघि १९६४ र १९६५ मा इन्टरले उपाधि जितेको थियो ।
फाइनल खेल्दै गरेका सिटी र इन्टरले अहिलेसम्म ३ खेल एक आपसमा खेल्दा एकएक जीत र एउटामा बराबरी खेलेका छन् ।
इन्टर मिलानको यसपटक इटालीको लीग जित्ने सम्भावना सकिइसकेको छ । तीन खेल बाँकी हुँदा नेपोलीले लीग जितिसकेको छ । तीन खेल खेल्दा इन्टर युभेन्टसलाई जित्दै दोस्रो स्थानमा भने पुग्न सक्नेछ । तर युभेन्टसले तीनवटै खेल जिते इन्टरले तीन खेलजित्नुले अर्थ राख्दैन । इन्टर युभेन्टसभन्दा तीन अंकले पछाडि छ ।
यता सिटी फेरि पनि इंंग्लिस लीग जित्न तीन खेलमा मात्रै एक जीतबाट टाढा छ । यस सिजन लयमा नरहेको चेल्सीलाई अबको खेलमा पराजित गर्न सके सिटी आर्सनललाई स्तब्ध पार्दै फेरि लीग च्याम्पियन बन्नेछ ।
घरेलु लीगको लय र स्टार खेलाडीले भरिएको टिम भएकोले पनि यसपटक सिटीले उपाधि उचाल्ने अनुमान धेरैको छ ।
तर लीगभन्दा पनि ठूलो च्याम्पियन्स लीग पहिलोपटक जितेर सिटी आफूलाई अब्बल सावित गर्ने धुनमा हुनेछ ।