गत वैशाख २८ गतेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।
तर आज उनी संसद बैठकमा उपस्थित नै भएनन्। बिहीबारको संसद बैठकमा नआएकोबारे सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमा उनले आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसदमा उपस्थित हुन नसकेको बताएका हुन्।
केही समयअघि ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने बताएका थिए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु,’ उनले भनेका छन्।
बिहीबारदेखि प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच सवाल-जवाफ गर्ने प्रचलन सुरू गरेको ठीक भएको पनि उनले बताएका छन्।
‘प्रश्नहरू दुई किसिमका हुन्छन्। एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ। देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ,’ उनले भनेका छन्, ‘सांसदहरूले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस्। त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ।’
प्रश्नहरू औपचारिकता मात्रै नहोस् र उत्तरहरू ओठे प्रतिबद्धता मात्रै नहुन् भनेर पनि उनले शुभकामना व्यक्त गरेका छन्।

