राष्ट्रपति रामचन्द्र पौडेल तामझाम नगरी संसद् भवन जाने भएका छन् । आजै ४ बजे संसद्को संयुक्त बैठकमा नीति कार्यक्रम बाचन गर्न राष्ट्रपति सडक खाली नगराई बानेश्वर जान लागेका हुन् ।
शीतलनिवासदेखि नयाँ बानेश्वस्थित संसद् भवन परिसरमा पुग्दा कुनै भड्किलो तामझाम नगर्ने र सडकमा जाम पनि नगराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिए ।
‘साधारण तरिकाले राष्ट्रपति संसद् भवन जाँदै हुनुहुन्छ । सडक खाली गराएर नागरिकको आवागमन रोक्ने काम हुँदैन । कारगेड पनि हुँदैन,’ पोखरेलले भने, ‘रिसल्ला पनि भए कार्यालय परिसरभित्रै हुन्छ । नत्र यो पनि नगर्ने कि भन्ने छ ।’
राष्ट्रपतिको सवारीको नाममा घण्टौसम्म नागरिकलाई जाममा पार्ने परम्परालाई राष्ट्रपति पौडेलले तोड्दैछन् । पौडेल राष्ट्रपति भएकै दिनदेखि सडक जाम नगराइ सवारी गराउने अभ्यास हुँदै आएको छ । विभिन्न अवसरमा मन्दिर पुग्दा राष्ट्रपति तामझाम नगरी पुगेका थिए ।
यसअघि राष्ट्रपतिको सवारीमा तामझाम र तडकभडक धेरै हुने गरेको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

