जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे/नगरेको परीक्षण गर्ने भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतवार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पत्र लेख्दै आउदो साउन ६ गते सम्बन्धित पालिका र वडामा जनमत संग्रह हुने जानकारी दिएका हुन् ।
जनमतले स्थानीय तह निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा जनप्रतिधिको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन भन्ने जानकारी लिन जनमतसंग्रह गराउन लागेको हो ।
जनमत पार्टी ‘राइट टू रिकल’ को अवधारणामा आस्था राख्ने पार्टी भएकोले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको समग्र कार्यमूल्याङ्कनगरी समय-समयमा सकारात्मक सुझाव दिएर अभिप्रेरित गर्ने, सचेत गराउने तर जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गए आवश्यक कारबाही गर्ने उनले स्मरण गरेका छन् ।
जनमत संग्रहमा तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ? भनेर प्रश्न गरिने छ । जसमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाको जनमत पार्टीका सदस्यहरूले मतदान गर्न पाउने छन् ।

