नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ आएका दलरहरूले ठीक र बेठीक छुट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेको टिप्पणी गरेका छन् । सोमवार बिहान फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले नीति र उद्देश्यविहीन नयाँहरू पपुलिस्ट पोलिटिक्समा लागेको टिप्पणी गरेका हुन् ।
यस्तो अवस्थामा सत्यलाई स्थापितगर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुँदैन । ‘पुरानो होइन नयाँ भनेर नीतिविहीन र उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरूले ठीक र बेठीक छुट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन्,’ रवि लामिछाने नेतृत्वको रास्वपासहितका नयाँ दललाई केन्द्रित गर्दै उनले भनेका छन्, ‘यसरी उद्देश्यविहीन पपुलिस्ट कुरागर्नेहरू र छोएरै उपचार गर्छु भनेर भीड जम्मा गर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् ।’
नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोली राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुन अनौठो कुरा नभएको उनले बताएका छन् ।