नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने स्पष्ट पारेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन् ।
त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए ।
भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरूले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे । मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोश पल्टाएर हेर्न पनि उनले आग्रह गरे ।
इतिहासलाई सम्मान गर्न उनले आग्रह गरे । ‘माननीयजीलाई एकपटक शब्दकोश पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछा या भालुयुद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ?,’ पौडेलले भने, ‘मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । बृहत शान्ति सम्झौता ? तपाईंको नेताले हस्ताक्षर गरेको १२ बुँदे सहमति बिर्सिनुभयो ? हामी त्यही श्रृङ्खलामा छौँ ।’
उनले नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउनेगरी आएको दाबी गरे ।