संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई परम्परा धान्न ल्याइएको दस्तावेजको संज्ञा दिएको छ । मंगलवार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिँदै रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले पक्ष र विपक्षमा जे जस्ता कुरा आए पनि यो परम्परा धान्न ल्याइएको दस्तावेज भएको टीप्पणी गरेका हुन् ।
नीति तथा कार्यक्रमलाई बजेटसँग टाइअप गरेमा मात्र कामकाजी बन्ने उनको बुझाइ छ । ‘नीति तथा कार्यक्रममा केही चेन्ज नहुने, बजेट पनि रुटिन सरह पास हुने भएकोले छलफल पनि निरर्थक बनेको छ । पक्ष र विपक्षमा जे जस्ता कुरा आएको भए पनि यो परम्परा धान्न ल्याइएको दस्तावेज हो, परम्परा धानिएको छ’ वाग्लेले भने ।
नीति तथा कार्यक्रमका १८८ निर्जीव प्याराग्राफलाई टाइअप गरेर बजेट ल्याउनुपर्ने उनले बताए । ‘जेठमा अविश्वसनीय बजेट ल्याउने र माघमा संशोधन गर्ने परम्परालाई अन्त्य गरेर अहिले नै बस्तुपरक बजेट ल्याऔं’ वाग्लेले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संसदमा पेश गरेको सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल मंगलवार प्रतिनिधि सभामा सम्पन्न गर्ने तयारी छ ।

