सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप ‘हाई प्रोफाइल’विरुद्ध पनि तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने तयारी गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार ३३ अभियुक्तविरुद्धको मुद्दा दर्ता हुना साथ बाँकी ‘हाई प्रोफाइल’विरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र काट्ने तयारी भएको हो ।
अभियुक्तविरुद्धको मिसिल अध्ययनमा संलग्न सरकारी वकिल कार्यालयका उच्च अधिकृतले भने, ‘पक्राउ परेका अभियुक्तको बयान अध्ययन गरियो । उनीहरूले थप ‘हाई प्रोफाइल’को नाम पटक–पटक उल्लेख गरेको देखियो । तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेको देखिएन । त्यसो हुँदा उनीहरूविरुद्ध तत्काल अनुसन्धान सुरु गर्न निर्देशन दिने तयारी भइरहेको छ । मुद्दा अदालतमा दर्ता हुना साथ उनीहरूविरुद्ध अनुसन्धान थाल्न हामी प्रहरीलाई पत्र काट्छौँ ।’
सरकारी वकिल कार्यालयका अनुसार पक्राउ परेका केशव दुलाल र सानु भण्डरीको बयानमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को नाम पटक–पटक आएको छ । त्यस्तै, बादलपत्नी नैनकला थापा र छोरा प्रतीक थापाको नाम पनि बयानमा आएका छन् । प्रहरीले प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, रामबहादुर र नैनकलाविरुद्ध अनुसन्धान नै गरेको छैन ।
पक्राउ परेकामध्ये दुलालले तत्कालीन गृहमन्त्री बादललाई पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर तीन करोड रुपैयाँ बुझाएको बयान दिएका छन् । त्यस्तै, उनका छोरा प्रतीकलाई नक्सालस्थित थकाली भान्साघरको पछाडि रहेको होटेलमा ०७६ असारमा एक करोड रुपैयाँ बुझाएको बयानमा उल्लेख छ ।
त्यस्तै, तत्कालीन गृहसचिव प्रेमकुमार राई, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, ओलीका तत्कालीन सल्लाहकार डा. अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितको नाम पनि दुलालको बयानमा उल्लेख छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित र डा. अजयक्रान्ति शाक्यले पहिला बुझेको रकम अपुग भएको भन्दै थप जनही एक–एक करोड रुपैयाँ लिएको बयान दुलालले दिएका छन् ।
त्यसबाहेक अर्का हाई प्रोफाइल कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाणपत्नी मञ्जु खाणको नाम पनि घटनामा जोडिएर आएका छन् । प्रहरीले उनीहरूविरुद्ध पनि अनुसन्धान गरेको छैन । त्यस्तै, अर्का बिचौलिया बेचन झाविरुद्ध पनि अनुसन्धान भएको छैन । पक्राउ परेका अभियुक्तको बयानअनुसार उनी धन्दाका क्रममा राजनीतिक सेटिङ मिलाउने भूमिकामा थिए ।
घटनामा फरार प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापाविरुद्ध पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिने भएको छ ।
(आज को यो समाचार टेकराज थामीले नया पत्रिका मा लेखेका छन्)