काठमाडौँ — नेपाल र भारत दुवैले प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री दाहालले यही जेठ १७ गतेदेखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । त्यस्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भएको भनेको छ । प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालय दुवैले जनाएका छन् ।
यस भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिलाई अझ सुदृढ गर्दै नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । ‘पछिल्ला केही वर्षमा दुई देशबीच सहकार्यका सबै क्षेत्रमा महत्त्वपूर्ण रूपमा सम्बन्ध मजबुत भएको छ,’ भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा केही नयाँ चिज नेपाललाई प्राप्त हुने र नेपाल–भारत सम्बन्धको आयाम पनि नयाँ ठाउँमा पुग्छ भन्ने विश्वास गरेको बताएका छन् । केही दिनअघि कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करणको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले भनेका थिए , ‘सायद यो (भ्रमण) राम्रो अवसर हो, नेपालका लागि पनि र भारतका लागि पनि । हामीले दुईपक्षीय सम्बन्धलाई बलियो पार्ने, दुईपक्षीय सहयोगका क्षेत्रहरूलाई नयाँ बनाउने । अहिले मैले धेरै भन्न उचित हुँदैन तर एउटा नयाँ इतिहास यो पटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदै छु ।’ प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौं फर्कनेछन् ।

