काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो जुलाई अन्तिमदेखि अगस्ट पहिलो साताभित्र चीनको भ्रमण गर्ने भएका छन् ।
हाल भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका उनले जुलाई अन्तिमदेखि अगस्ट पहिलो साताभित्र चीनको भ्रमण गर्ने भएका हुन् । १२ दिने चीनको भ्रमण गरेर शुक्रबार फर्किएका पूर्वसभामुखसमेत रहेका प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यसबारे खुलाए ।
उनले चीनलाई त्यही सन्देश दिएर फर्किएका छन् । “चीन जानुअघि मैले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेडलाई भेटेर सन्देश के छ भनेर सोधे भने के भन्ने भनेर सोधेको थिएँ । त्यसक्रममा उहाँले जुलाई अन्तिम सातादेखि अगस्ट पहिलो हप्ताभित्र चीनको भ्रमणको सन्देश छ भनेर सुनाइदिनुस् भनेर भन्नुभएको थियो । मैले त्यही सन्देश दिएर आएँ,” सापकोटाले भनेका छन् ।
हाल तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड अहिले भारतको भ्रमणमा छन् । यसअघि दुवै देशबाट निम्तो आएपछि उनले कुन देशको भ्रमण पहिले गर्ने भनेर अन्यौल देखिएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा चीनको भ्रमण पहिले गरेका उनले त्यहीकारण आलोचित भएपछि ‘मेरो औपचारिक पहिलो भ्रमणचाहिँ भारत नै हो’ भनेर भन्नुपरेको थियो । त्यसबेला उनी चीन औपचारिक/राजकीय भ्रमणमा नभइ निम्तो-भ्रमणमा गएका थिए ।

