आइतवार पुनः बैठक राख्ने प्रयास असफल भएपछि दुवै सदनका बैठक आजका लागि तोकिएका हुन् ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएकव संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र यस विषयमा सामान्य छलफल प्रारम्भ गर्ने कार्यक्रम छन् ।
यस्तै आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने र अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र यसपछि सामान्य छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
तर विपक्षी दलहरूले आज पनि बैठक अवरुद्ध गर्ने सम्भावना छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गरेको नागरिकता विधेयक तथा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेश जाने बाटोसँग साट्न सकिने भनेर दिएको अभिव्यक्तिको विरोधमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालले विरोध गर्दै आएका छन् ।
विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव ल्याउनु पर्ने र भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
नागरिकता विधेयक भने अहिले कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ ।

