प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधवार) प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी रहेको बताए ।
‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ,’ उनले भने, ‘यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन् ।’
प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरू एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताए । उनले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गरे । प्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहलबाट नै वर्तमान अवस्था आफूहरू बलियो उनको भनाइ छ ।
भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न प्रेस सेन्टरको ध्यानाकर्षण
प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको कदम, गरेको निर्णय र कारबाही प्रक्रियाले आम जनमानसमा सकारात्मक सन्देश र नयाँ आशाको सञ्चार गरेकाले उक्त अभियानलाई अझ सशक्त बनाउन आग्रह गरेको हो ।
प्रेस सेन्टरले सरकारको यस कदम र निर्णयप्रति पूर्ण ऐक्यबद्धता प्रकटसमेत गरेको छ । प्रेस सेन्टरले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकामा आभार व्यक्त गरेको छ । सङ्गठनले समानुपातिक विज्ञापनको नीतिलाई व्यावहारिकरूपमा तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउन आग्रह गर्दै सेन्टरले विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनका लागि थप जिम्मेवार बनाउन तथा प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराएको छ ।

