काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सरकारले विगतमा कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसानले नपाएको बताएका छन् । बिहीबार अर्थमन्त्रालयमा किसानहरुसँगको भेटघाटमा महतले अब उत्पादनमा आधारित भएर मात्रै अनुदान दिइने बताए ।

‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौं अनुदानको सदुपयोग भएन, दुरुपयोग भयो’ उनले भने ‘कागज देखाएर मात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो ।’ कृषिकलाई एक तहको संरक्षण दिनुपर्ने मान्यताका साथ २०८० को आर्थिक विधेयक प्रस्तुत गरिएको उनको भनाइ छ ।
स्वदेशमै उत्पादन बढाउन र स्वदेशी उत्पादनलाई संरक्षण गर्नका लागि आलु, प्याजमा कर लगाएको उनले बताए । आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन तथा सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको महतको भनाइ छ । ‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ, स्थानीय उत्पादनलाई महँगो बनाउँदैन’ उनले भने ‘आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं, त्यसले रोजगारी पनि सिर्जना हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौं भनेर प्रस्ताव गरिएको हो ।’ तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको उनको भनाइ छ ।