अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ सहित
पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन्।
बिहीवार प्रहरीले उनीहरुलाई पक्राउ गरी सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएका थिए। प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ।
युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए। उनले पक्राउ परेकाहरुलाई जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने बताए।
उनले भने, ‘आज हामीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ। वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोशन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने। पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ। पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोशन गर्ने र प्रमोशन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ। यसमा पपुलर टेलि सिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरु छन्। हाम्रोमा यो गैरकानूनी हो। जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ।’
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ। धारा १२५ को (२) को उपदफा (१) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।





