कोशी प्रदेशमा गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक जनाको शव भेटिएको छ भने २८ जना बेपत्ता छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी राजेश बास्तोलाका अनुसार संखुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएका छन् ।
१९ बेपत्ता भएकोमा तीन जना भने सम्पर्कमा आएका छन् । यस्तै संखुवासभाकै मकालु गाउपालिकामा तीन जना बेपत्ता भएको उनले बताए । एक जनाको शव भेटिएको उनले जानकारी दिए । उनी अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुर हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा क्षति गरेको छ ।
यस्तै पाँचथर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् ।
बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यादव भने घरबाहिर रहेका छन् । अर्का एक जना पनि बेपता भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको मेहेलेका भरत तामाङ बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको प्रहरीको भनाइ छ । उनको खोला छेउमा घर थियो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलका अनुसार उद्धार कार्यमा प्रहरीहरू परिचालन गरिएको छ । निरन्तर वर्षात् भइरहेका कारण उद्धारमा समस्या भइरहेको उनले बताए ।