प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध बनाउने पहल शुरू गरेको बताएका छन् ।
आइतवार कम्युनिष्ट पार्टीका संस्थापक स्व. नारायणविलास जोशीको ३४औं स्मृति दिवसको अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले विगतको एकताबाट शिक्षा लिँदै फेरि अगाडि बढ्ने उद्देश्य रहेको बताएका छन् ।
समाजवादी मोर्चाबाट फेरि पार्टीलाई एकताबद्ध गर्ने योजना रहेको उनले सुनाए । ‘ एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ । विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष र विभाजन फेरि रूपान्तरण हुँदै एकताबाट गुर्जिदै अगाडि बढेको छ,’ उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अगाडि बढेको छ । हामीले फेरि एकचोटी विचार गर्नुपरेको छ । अहिले कमरेड माधव, म लगायत विप्लव र उपेन्द्रजीले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध बनाउने पहल शुरू गरिसकेका छौं। माधवजी र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्किनुपर्छ।’

