कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज सकिने भएपछि दलहरू दाबी पेश गर्ने तयारीमा जुटेका छन् ।
सत्ता गठबन्धनले सभामुखसहित दाबी पेश गर्ने तयारी गरेको छ भने नेकपा एमाले पनि आन्तरिक तयारीमा जुटेको छ ।
गठबन्धनले साढे ४ बजे सभामुख बाबुराम गौतमसहित प्रदेश प्रमुख कहाँ पुगेर दाबी पेश गर्ने भएको छ ।
एमाले भने संसदमा प्रतिवाद गर्ने कि कानूनी उपचारमा जाने भनेर छलफलमा जुटेको छ । ‘हामीले प्रदेश प्रमुखलाई भेटेर सभामुखलाई समेत देखाएर दाबी पेश गर्न आए त्यसलाई मान्यता नदिन आग्रह गरेका छौं’, नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘प्रदेश प्रमुख कुनै पनि दलको नभएकाले उहाँले कानूनको रक्षा गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएका छौं । यदि उहाँले हाम्रो आग्रहलाई वास्ता गर्नु भएन भने हामी कानूनी उपचारमा जान्छौं ।
सत्ता गठबन्धनले सभामुखसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेमा आजै मुद्दा दर्ता गरिने एक सांसदले बताए । ‘पार्टीका माथिल्लो तहका नेतासँग अहिले छलफल गरिरहेका छौं’ ती सांसदले भने ‘भरे साँझ ५ बजे सम्ममा तपाईंहरूले केही नयाँ सूचना पाउन सक्नु हुन्छ ।’
सभामुखको विषयमा संवैधानिक इजलासले मुद्दा हेर्ने भएकाले सर्वाेच्चमा जाने तयारी गरिएको सांसदहरूको भनाइ छ ।
यद्यपि के गर्ने भनेर साँझ मात्रै टुंगो लाग्ने बताइएको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिकमतकुमार कार्कीले भने प्रदेशसभा चल्न नदिने बताइसकेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
आजै दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिइसकेका छन् । दाबी पेश गर्न गठबन्धन दलका नेताहरू काठमाडौंबाट विराटनगर आउँदै छन् ।
कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्रका सभामुखसहित (१३) एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीको १ गरी ४७ सिट छ ।

