काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न र भत्केको कालोपत्रे तत्काल मर्मत गर्न सञ्चालनमा ल्याएको ‘पूर्वाधार एम्बुलेन्स’ प्रयोगविहीन भएर थन्किएका छन् । महानगरले गत असारमा सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्स एक वर्ष नपुग्दै प्रयोगविहीन बनेका हुन् ।
महानगरले दुई वटा पूर्वाधार एम्बुलेन्स टेकुको फोहोर प्रशोधन केन्द्रमा थन्क्याइएको छ । एम्बुलेन्स थन्किएपछि सञ्चालनका लागि राखिएका कामदारलाई समेत बिदा गरिएको हो । तर, महानगर भित्र सडकमा भने ठाउँठाउँमा खाल्डाखुल्डी देखिन थालेका छन् ।
काठमाडौंमा खाल्डा टाल्ने काम प्रभावकारी तवरले गर्न भन्दै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले २०७९ असारमा पूर्वाधार एम्बुलेन्स सन्चालनमा ल्याएका थिए। २०७९ जेष्ठ १६ गते महानगरको प्रमुख पद सम्हालेपश्चात बालेनले पहिलो निर्णय नै काठमाडौँ महानगरभित्र खाल्डाखुल्डी पुर्न महत्त्वाकांक्षी योजना ‘पूर्वाधार एम्बुलेन्स’ अगाडि सारेका थिए।
सोहीअनुसार महानगरले १५ करोडको ठेक्का आह्वान गरेको थियो । तर ठेकेदारले तोकिए बमोजिम कागजात पेस गर्न नसकेपछि ठेक्का खारेज भयो ।
त्यसपछि २ करोडको ठेक्का मात्रै लागेको काठमाडौं महानगरपालिका विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए। उक्त ठेक्का बमोजिम काठमाडौंको वडा नम्बर १२, १७, २९, ३० र ३२ वडामा काम भएको उनले बताए ।
त्यसैगरी अर्को वर्षको लागि भनेर २ वटा सानो मोबाइल भ्यान खरिद गर्ने तयारी रहेको उनले जानकारी दिए । त्यसको लागि १५ करोडको टेन्डर आह्वान गर्ने योजना रहेको उनले सुनाए ।
जनताले सोचेअनुसार पूर्वाधार एम्बुलेनसले काम गर्न भने नसकेको उनले स्वीकार गरे । ‘थोरै र सामान्य क्षति भएका ठाउँमा कम खर्चमा तत्काल काम गर्न पूर्वाधार एम्बुलेन्सको अवधारणा ल्याइएको हो,’ उनले भने, ‘तर सोचे अनुरूप काम हुन् सकेन।’

