नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निर्वाचन आयोगमा जरिवाना तिरेका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले सूची सार्वजनिक गरेपछि उनले १५ हजार जरिवाना तिरेको जानकारी दिएका हुन् ।
निर्वाचन खर्च विवरण पहिले नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको भन्दै उनले जरिवाना तिरेपछि पुनः सार्वजनिक गरेका छन् । ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’
उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा २३ लाख ४२ हजार ७६८ रुपैयाँ खर्च भएको उल्लेख छ । उनले सबैभन्दा धेरै छापाखानामा खर्च गरेका छन् । उनले निर्वाचनका क्रममा पर्चा/पम्पलेट छपाइमा १० लाख खर्च गरेका छन् ।

