बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो ।
इटहरी–२० मा २०७२ देखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा गहना बनाउने लालबहादुरलाई अदालतले ठगी गरेको भन्दै ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगीको अर्को मुद्दामा ७० हजार जरिवानासहित डेढ वर्ष कैद तोकेको थियो । हाल उनी आठ महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् । कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएको उक्त ज्वेलर्सका कामदार लालबहादुरले दैनिक एक हजार रुपैयाँ ज्याला पाउँथे । यही ज्यालामा उनको ६ सदस्यीय परिवार निर्भर थियो ।
लालबहादुरलाई साहु कृष्णबहादुरले आफू लेखपढ गर्न नजान्ने भन्दै पासबुकमा हस्ताक्षर गर्ने र रकम संकलन गर्ने थप जिम्मेबारी पनि दिएका थिए । तर त्यही पासबुकमा हस्ताक्षर गरेर अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको आरोपमा जिल्ला अदालत सुनसरीले उनीमाथि मुद्दा चलाएको हो । इजाजत नलिइ बैकिंङ तथा वित्तीय कारोबार गरेको र सर्वसाधारणको रकम उठाएर ठगी गरेकामा दोषी ठहर गर्दै उनलाई सजाय तोकिएको थियो ।

