नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय समितिमा बोल्ने सदस्यको संख्या बढेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सुझाव दिन आग्रह गरेका छन् । पाँचौ दिनको बैठक शुरू गर्दै प्रचण्डले सरकार र संसदको काममा पनि ध्यान दिनुपर्ने भन्दै बोल्न बाँकी सदस्यलाई लिखित सुझाव पेश गर्न आग्रह गरेका हुन् । आइतवार सम्पन्न गर्नेगरी माओवादी केन्द्रीय कार्यालयले ५ दिनको बैठक हलको व्यवस्थापन गरेको थियो ।
माओवादीको आग्रहमा प्रतिनिधि सभाको बैठक सोमवारसम्म सूचना टाँसेर स्थगित गरिएको छ । शनिवारसम्म झण्डै २ सय जनाले बोलिसकेका छन् । ‘कुरा दोहोरिन थाले, बाँकी सदस्यहरूले अब लेखेर दिनुस्’ प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने । केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बसेका कारण आइतवारको बैठक ढिलोगरी शुरू भएको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाप दिने कार्यक्रम छ । पार्टी संगठन शुदृढ अभियान घोषणा र पदाधिकारीको जिम्मेवारी हेरफेर गर्दै बैठक आजै सम्पन्न गर्ने तयारी छ । केन्द्रीय कमिटी बैठक १७ गतदेखि बसिरहेको छ ।

