रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ का २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन्।
परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस रोल्पाको त्रिवेणी गाउँपालिका-७, तिलारिची गाउँमा दिउँसो १ बजेतिर दुर्घटना भएको हो।
सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा २० भन्दा बढी यात्रु सवार रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए।
प्रहरीका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ भने उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि दाङको घोराही पठाइएको छ।

