काठमाडौँ । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

आजबाट सुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ । गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् ।

गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् । गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ ।

सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागी हुन पुग्नुभएका जेठुनारायण महर्जनले खेतीपाती सकेर मानिसहरू फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुसीयाली साट्ने पर्व रहेको बताए । उनले हरेक दिन अब एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने बताए । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको उनको भनाई छ ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धा: बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।





