काठमाडौँको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
१८४ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एक दिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । बालबालिकाहरूमा खुसीयाली ल्याउन सो प्रदर्शनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
उनी भन्छन्, ‘१८४ औँ विश्व फोटोग्राफी दिवसको असरमा हामीले शनिवार वसन्तपुरको डबलीमा सिविन नेपालको सहयोगमा ह्याप्पी बालबालिका, जो राष्ट्रिय गौरव हुन भन्ने नाराका साथ फोटो एक्जीविशन गरेका छौँ । यसमा करिब ६० वटा फोटो राखिएको छ । बालबालिकाहरू गुम्न आउने, खेल्न आउने भएको यो ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरूको क्रियाकलापहरू समेटिएको फोटो प्रदर्शन गरिएको हो । बालबालिकाहरूमा खुसीयाली ल्याउन पनि यो प्रदर्शनी आयोजना गरिएको हो ।’
‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा विभिन्न जिल्लाका बालबालिकाहरूले खुसीका साथ गरेका क्रियाकलापहरू समावेश गरिएको तस्बिरहरू छन् ।
एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुसीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ ।
तस्बिरहरू:












