काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ । उनलाई आइतबार राति ललिता निवास जग्गा प्रकरणमा सीआईबीले बयान लिएको हो ।
गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो । सीआईबीका प्रवक्ता नवराज अधिकारीले सम्भवतः आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताए । आइतबार प्रतिवेदन बुझाउने भनिएपनि प्राविधिक कारणले सम्भव नभएको उनको भनाई छ ।
माधव नेपाल र डा. बाबुराम भट्टराईसँग बयान नलिएपछि उनीहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना हुँदै आएकोमा सर्वोच्चले २१ साउनमा मन्त्रिपरिषद्को निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

