बहुचर्चित ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अभियोजनबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार निर्णय गर्ने भएको छ । शुक्रबार प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएको कार्यालयले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई सय ३८ कसुरदार, ४८ जना जग्गाधनी र २१ जना मृतकलाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन गत मंगलबार सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । जसमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन् । पहुँचवाला व्यक्तिहरू सिफारिस भएकाले मुद्दाको अभियोजन कमजोर बनाउन र केहीको नाम हटाउन सरकारी वकिलमाथि दबाब छ ।
अभियोजनको विषयमा आइतबार नै निर्णय हुने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । प्रहरीले संगठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ । ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र संगठित रूपमा व्यक्तिको नाममा लगिएको सिआइबी निष्कर्ष छ ।

