काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड दशैं घरघरमा भित्रिसकेको छ । आज नवरात्रिको समापन संगै सर्वाधिक महत्वपूर्ण दिन विजयादशमीको टिका भोलि थाप्ने तयारी भइरहेको छ । नेपालमै पनि दशैं मनाउने शैलीमा ठाउँ अनुसार धेरै अन्तर छन् ।
पुर्वमा दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट टिका थप्ने चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछन् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै अन्तर छ । नेपाल बाहेक भारत, बङ्गलादेश, बर्मा, मलेसिया जस्ता थुप्रै देशमा पनि दशैं मनाइन्छ । तर, सबै ठाउँको चलन उस्तै छैन् । हामीलाई अनौठो लाग्ने गरी संसारभर फरक ढंगले मनाइन्छ, दशैं ।
यहाँ ठुलो संख्यामा हिन्दु धर्मालम्बीहरु रहेको नेपालको छिमेकी मुलुक भारतमा दशैँ कसरी मनाइन्छ र कुन प्रदेशमा कस्तो चलन छ भन्नेबारे चर्चा गरिएको छ ।
गुजरात
गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ, दशैं । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच नाचिन्छ ।
महाराष्ट्र
महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।
काश्मीर
नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदस्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ ।
तामिल नाडु
भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिन मध्ये तीन–तीन दिन छुट्टा छुट्टै देवीको पुजा गरिन्छ । सुरुको ३ दिन लक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पुजा धुमधाम गरिन्छ ।
उत्तर भारत
उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गरेको छ ।
हिमाञ्चल प्रदेश
हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानी देवता रघुनाथको पनि भव्य पुजा गर्छन । हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ । यात्रामा नाँच गान पनि गरिन्छ ।
पश्चिम बंगाल
दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरू पाँच दिनको नै दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।