काठमाडौं – कात्तिक ४ गते फुलपातीको दिन थियो। समय दिउँसो ४ बजे।
दसैंको अवसरमा सल्यान बागचौर नगरपालिका-७ स्थित श्री उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।
भलिबल प्रतियोगिता हेर्न मानिसहरू जम्मा भइरहेका थिए।
त्यही मेसोमा सोही ठाउँका २० वर्षीय घनश्याम वली पुगे।
सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार युवाहरू भेला हुने क्रम जारी रहँदा २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वली पनि त्यहाँ पुगे। उनीहरू पनि त्यही वडाका हुन्।
तर, केशर र सन्तोषले मदिरा सेवन गरेका थिए।
मदिराको सुरमा रहेका उनीहरू बिनासित्ती निहुँ खोज्दै हिँडिरहेका थिए।
यसक्रममा उनीहरूले घनश्यामलाई फेला पारे।
उनीहरूमध्ये केशरले अनाहकमा घनश्यामसँग निहुँ खोजिहाले।
उनले निर्देशनात्मक शैलीमा भने – ए भाइ तेरो दाइलाई ढोग गर।
दर्शकहरू भेला भएको सार्वजनिक ठाउँमा ढोग्न भन्दा घनश्यामले आफूलाई अपमान गरेको महसुस गरे।
घनश्यामले जवाफ फर्काए – मैले तपाईंलाई खुट्टामा किन ढोग्ने?
केशरले हाल हालिहाले। घनश्याम र केशरबीच हात हालाहाल भइरहँदा सन्तोषले केशरको टाउको तथा शरीरका विभिन्न भागमा कुटपिट गरे।
घनश्यामलाई मरणासन्न हुने गरी घाइते बनाएर भागे।
घाइते अवस्थाका घनश्याम उठेर धर्मराउँदै घर गए। घर जाँदा उनका बुवाले के भयो? भनेर सोधेका थिए।
उनले केशर र सन्तोषले आफूमाथि कुटपिटगरेको बताए।
घनश्यामलाई तत्कालै उपचारको लागि उनका बुवाले भारतको नानपारामा लगे।
तर उपचारको क्रममा ८ गते घनश्यामको मृत्यु भयो।
कार्कीका अनुसार घनश्यामको शरीरको बाहिरी भागमा चोटपटक देखिएको छैन। पोष्टमार्टम रिपोर्टमा चाहिँ टाउकोको भित्री भागमा गम्भीर चोट देखिएको छ।
हत्या गरेको आरोपमा घनश्यामका ठूलो बुवाले निवेदन दिएपछि प्रहरीले केशर र सन्तोषलाई पक्राउ गरेको छ।
उनीहरूलाई जाहेरी परेकै दिन कात्तिक ८ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
‘पक्राउ परेका युवा मदिरा सेवन गरेर त्यतिकै निहुँ खोज्दै हिँड्ने खालका रहेको पाइएको छ,’ उनले भने।
घनश्यामलाई उपचारको लागि भारत लगिएको छ भन्ने थाहा पाएपछि दुबै भागेका थिए।
उनीहरू दाङ तुलसीपुर उपमहानगरपालिका-१२ रझेनास्थितमा लुकिछिपी बसिरहेका थिए। घनश्यामको मृत्यु भएको थाहा पाएलगत्तै प्रहरीले उनीहरूलाई दाङ पुगेर पक्राउ गरेको हो।
दुबैलाई अहिले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।

