काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन्। बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताए।
उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए। हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने उनको भनाइ थियो।
‘…हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो। कार्ल मार्क्स भन्नुभएको थियो– महान उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरु कहिल्यै मर्दैनन्। अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्छन्। र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन्। ती हजारौँ सहिदहरु कहिल्यै पनि दबिने छैनन्,’ उनले भने।
प्रधानमन्त्री दाहालले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताए। पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै उनले सो भूमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए।
प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको जिकिर गरे। उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने बताए।

