काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र आन्दोलन सरल रेखामा नहिँड्ने भन्दै नयाँ क्रान्तिको तयारीमा रहेको बताएका छन् ।
६ वर्षपछि रोल्पाको थवाङ पुगेका प्रचण्डले शान्ति प्रक्रियापछि विभाजित भएका माओवादीबीच अब एकताको आधार तयार भएको भन्दै नयाँ चरणको क्रान्तिमा होमिने बताएका हुन् ।
‘क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बांगोटिंगो हुन्छ । यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ । यो विज्ञानको नियम हो । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो । अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ’ प्रचण्डले भने, ‘शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदैछ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौं ।’
सुशासन, न्याय र समृद्धिलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।
‘समाजवादको आधार तयार पार्ने उद्देश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ’ प्रधानमन्त्रीले भने, ‘यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललितानिवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।’
६ वर्षपछि थवाङ आउन पाउँदा गौरव भएको उनले बताए ।
‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो’ प्रधानमन्त्रीले प्रचण्डले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु। थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।

