चितवन, माघ १९-
सप्तगण्डकी बहुमुखी क्याम्पसमा विश्व सिमसार दिवस मनाइएको छ । आज (शुक्रबार) क्याम्पसमा विज्ञान संकाय, वातावरण विज्ञान क्लब, क्लब अफ ईन्भाईरोमेंट साइन्स सप्तगण्डकी र पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी ईकाइको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी सिमसार दिवस मनाइएको हो ।

विद्यार्थीहरुले ‘सिमसारको संरक्षण आजको आवस्यकता’, ‘मानव कल्याणका लागि सिमसार’, ‘सिमसार रहे मात्र हामी रहन्छौँ’ ‘पानीको संरक्षण, जीवनको सुरक्षा’ लगाएतका प्ले कार्ड सहित र्याली गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । करिव १५० विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारीको सहभागिता रहेको र्याली क्याम्पस परिसरबाट, पुरानो मेडिकल कलेज, दिपेन्द्र चोक, सिनर्जि चोक, बिरेन्द्र क्याम्पस चोक हुँदै सप्तगण्डकी क्याम्पस सभामा परिणत भएको थियो । विद्यार्थीले सिमसारको महत्व झल्कने र्यालीसहित क्याम्पस परिसरको सरसफाई, सिमसार संरक्षण सम्बन्धी प्रस्तुतीकरण, सिमसार हाँजिरिजवाफ र सिमसारमा रहने जीवजनावरको मुखाकृति (फेस पेन्टिङ) लगायत विविध कार्यक्रम गरि सिमसार दिवस मनाएका थिए ।


कार्यक्रममा क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञान विभाग तथा विद्यार्थीहरुले गरेको रचनात्मका कार्यक्रममा क्याम्पस प्रशासनको सधै सहयोग हुने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यस्तै वातावरणमा प्रर्दुषण गर्न नहुने भन्दै सिमसार संरक्षणमा सबै लाग्नुपर्ने पूर्व क्याम्पस प्रमुख मणिराज महतोले बताए । क्याम्पस परिसरमा सरसफाई कार्यक्रमका अलवा फोहोरमैला कम गर्ने उपाय सबैले खोज्नु पर्ने बताउँदै विज्ञान विभागका विभागीय प्रमुख रवी राज सुवेदीले आफूले गरेको फोहोर आँफै व्यवस्थापन गर्नुपर्ने र सिमसारको महत्व बारे सबैलार्ई सचेत गराउन पर्ने बताए ।
कार्यक्रममा वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुब आचार्यले सिमसारको महत्व, नेपालमा सिमसारको वर्तमान अबस्था तथा संरक्षणका चुनौतिहरुको बारेमा जानकारी गराएका हुन् । उनले विश्वमा औद्योगिकरण, तिब्र जनसंख्या बृद्धि, वातावरणीय प्रदुषण, जलप्रदुषण, जलवायु परिवर्तन आदिका कारण जैविक विविधतामा ह्रास आउनुका साथै पानीको मुहान सुक्ने बताए ।
कार्यक्रममा वातावरण विज्ञान तेस्रो बर्षमा अध्ययनरत सुरक्षा पोख्रेलले रामसार क्षेत्रमा सूचीकृत नेपलका सिमसारको अवस्थाको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै दोस्रो बर्षकी अस्मिता पौडेलले सिमसारको महत्व र संरक्षणको आवश्यकता सम्बन्धि प्रस्तुतिकरण दिएकी थिइन् ।

कार्यक्रममा क्लबका अध्यक्ष सुगम धिताल, वातावरण विज्ञान चौथो वर्षमा अध्ययनरत आस्था गिरी, सिजन न्यौपाने, दृष्टि रेग्मी, सविता आचार्य, आयसा गिरी, सृष्टी भुसाल र तेस्रो बर्षका उत्सव बानियाँले फेस पेन्टिङमा सहजिकरण गरेका थिए । विज्ञान बिभागका बिभागीय प्रमुख रवि राज सुबेदीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वातावरण विज्ञानका सहायक प्राध्यापक आभा पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।


