चितवन , बैशाख १२ – चितवनको माडीमा भोलि बिहीबार बाट सञ्चालन हुन लागेको माडी सांस्कृतिक तथा पर्यटन उत्सव – २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।
दिउँसो १२ बजे झाँकी सहितले बजार परिक्रमा गरि १ बजे उत्सवको उद्घाटन हुने भएको छ । उत्सवको समुद्घाटन बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले गर्नुहुने आयोजकले जनाएको छ ।
माडीको पर्यटन प्रवर्द्धनका निम्ति माडी कला केन्द्रको आयोजनामा सो उत्सव सञ्चालन हुन लागेको हो । माडीका विभिन्न समुदायको रीतिरिवाज र संस्कृतिलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ । उत्सवमा नायक पल शाह र गायिका समिक्षा अधिकारी सहितका चर्चित राष्ट्रिय कलाकारहरु गायक प्रमोद खरेल, प्रकाश सपुत, शान्तिश्री परियार, बद्री पंगेनी, रामजी खाँड, ज्योति मगर, एलिना चौहान र र्यापर जिबब लगायतको प्रस्तुति रहने मेला मूल आयोजक समिति संयोजक पदम विलाश पन्तले बताउनु भयो ।
बसन्तपुरको खुल्ला चौरमा भोलि बैशाख १३ गते देखि २१ गतेसम्म सञ्चालन हुने उत्सवमा बिभिन्न ब्यवसायीक प्रतिष्ठानका १ सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । माडीका धार्मिक पर्यटन क्षेत्र र माडीमा रहने सबै समुदायको रीतिरिवाज झल्किने संस्कृति प्रर्दशन गर्ने छुट्टै स्टलहरू रहने आयोजकले जनाएको छ ।
उत्सवमा माडी डान्स आइडल, ब्याड मिन्टन, बाल उद्यान लगायतका मनोरञ्जनात्मक प्रतियोगिता रहनेछन् । माडी भित्र र बाहिय गरी करिब ४० हजार दर्शकहरुले उत्सवको अवलोकन गर्ने र एक करोड बराबरको कारोबार हुने आयोजकको आँकलन छ ।
उत्सव अवलोकनका लागि विद्यार्थीहरुलाइ ५० रुपैया र अन्य व्यक्तिहरुका लागि ८० रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।