काठमाडौं । आज भारतको सातौं चरणको अन्तिम दिनको लोकसभा निर्वाचनको मतदान सकिएको छ । ४० दल मिसिएर बनेको भारतीय जनता पार्टी (भाजपा)विरोधी इण्डिया गठबन्धनले २९५ सीट ल्याउने दाबी सार्वजनिक गरेको छ । यो भनेको ५४३ सीट भएको लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो । यद्यपि, यो चुनावी दाबी हो । यसमा विश्वास गर्न पनि सकिन्छ, नगर्न पनि ।
तर, विभिन्न भारतीय चुनावी गणितमा अधिकांश समय सफल हुँदै आएका तथा बीबीसीले पनि सफल चुनावी रणनीतिकार भनेर चित्रण गरेका भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरले पछिल्ला विभिन्न सार्वजनिक बोलीहरुमा आँकलन गरेका छन् । उनले गरेको दश आँकलन भारतको बिजनेस टुडेले सार्वजनिक गरेको छ ।
बिहार केन्द्रित जन सुरज नामक राजनीतिक अभियानमा लागेका प्रशान्त किशोर पछिल्लो समयमा बीजेपीका आलोचक पनि हुन् । यस्ता छन् भारतका चर्चित सफल चुनावी रणनीतिकार प्रशान्त किशोरले भारतको १८औं लोकसभा चुनावको बारेमा गरेका दश आँकलनः
- १) केन्द्रको बीजेपी सरकारसँगको असन्तुष्टि धेरै छैन ।
- २) भाजपाले ३०३ सीट जित्छ ।
- ३) भाजपमा असन्तुष्टि भए तापनि मोदीविरोधी मत बलियो छैन ।
- ४) पश्चिम भारत तथा उत्तर भारतमा सय सीट गुमाएमा मात्रै बीजेपी सत्ता बाहिर आउने सम्भावना हुन्छ । त्यो सम्भावना कमजोर छ ।
- ५) महाराष्ट्र तथा राजस्थानमा ४० सीट हाराहारी गुमाउनु परे पनि बीजेपीले पूर्वी तथा दक्षिण भारतबाट त्यसको पूर्ति गर्छ ।
- ६) भारतको कंग्रेस पार्टीले तीन अंकको सीट ल्याउँदैन । अर्थात १०० सीट पुर्याउँदैन ।
- ७) आसाम, ओडिसा, पश्चिम बंगाल र तेलंगनामा बीजेपीको सीट बढ्छ ।
- ८) बीजेपी सरकारमा आएपछि पेट्रोलियमलाई पनि जीएसटीमा राख्छ ।
- ९) भारतीय कूटनीति चुनावपछि झन आक्रामक हुन्छ । यो विश्वभर महसुस हुनेगरी हुन्छ ।
- १०) बीजेपीको तमिल नाडुमा भोट बढ्छ । सीट बढेर दुई अंक पुग्छ ।