काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेलाई श्रीमान नरेश भट्टले घरमै हत्या गरेको संकेत दिने केही प्रमाण भेटिएका छन् ।
भर्जिनियाको मानसस पार्कबाट जुलाई ३१ देखि हराएकी ममतालाई श्रीमानले नै हत्या गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा केही प्रमाण बुझाएको हो ।
प्रहरीले ब्लुस्टार प्रविधिको प्रयोग गर्दा घरको बेडरुम र अन्य विभिन्न स्थानमा रगतका टाटा भेटिएका छन् । अनुसन्धानका क्रममा एक स्थानमा रगतको आहाल समेत रहेको र पछि सफा गरेको पाइएको छ ।
ओछ्यान र कार्पेटमा गुलाबी दागहरु देखिएपछि अनुसन्धान गर्दा ति रगतको टाटा भएको पाइएको पनि प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार भट्टले ममतालाई मास्टर बेडरुममै चक्कु प्रहार गरी हत्या गरेको अनुमान छ ।
जुलाई ३० मा भट्टले स्थानीय वालमार्टबाट ३ वटा चक्कु र सरसफाइका सामान किनेका थिए । ति मध्ये दुईवटा चक्कु प्रहरीले घरमा फेला नपरेको जनाएको छ ।
बाथटबमा पनि रगत भेटिएको छ । तर, नरेशले ममताको हत्यापछि शव कहाँ लुकाएका छन् भन्ने अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
सरकारी वकिलको कार्यालयमा नरेशको प्रारम्भिक बयान भएको छ । प्रहरीले नरेशले तत्काल घर बिक्री गर्न दुईजनासँग कुरा अघि बढाएको समेत पत्ता लगाएको छ ।
बिहीबार स्थानीय प्रहरीले घरमा खानतलासी गरेपछि नरेशलाई पक्राउ गरेको थियो । ममता हराएको रिपोर्ट श्रीमान नरेशले अगष्ट ६ तारिखमा मात्रै गरेका थिए ।
१ वर्षीया छोरीलाई घरबाट छुट्टै लगेर समाज सेवा विभागको संरक्षणमा राखिएको छ ।

