रेशम सापकोटा
माडी चितवन
माडी, चितवन — एसईई २०८१ को परीक्षाफल सार्वजनिक भएसँगै माडी नगरभित्रका दुई विद्यालयका विद्यार्थीहरूले उत्कर्षको नतिजा ल्याएर नगरको नाम उज्यालो बनाएका छन्। जनकल्याण माध्यमिक विद्यालयका आदर्श गौतम र दिवाकर स्मृति माध्यमिक विद्यालयका सुदीन तिवारीले समान ३.९६ ग्रेड प्वाइन्ट एभरेज (GPA) प्राप्त गर्दै संयुक्तरूपमा नगर टपर बन्न सफल भएका हुन्।
यसैगरी, दोस्रो स्थानमा पनि रोचक बराबरी देखिएको छ। जनकल्याणकी शिफ्रन सुवेदी र दिवाकर स्मृति कै साक्षी यादवले ३.९५ GPA ल्याएर माडी नगरकै उपविजेता बनेका छन्। अंकको दशमलवमा मात्र भिन्नता देखिने भएकाले दुवैलाई दोस्रो स्थानको सम्मान मिल्ने अपेक्षा गरिएको छ।
विद्यालयगत नतिजा विवरण:
जनकल्याण माध्यमिक विद्यालयबाट ८८ जना विद्यार्थी एसईईमा सहभागी भए। जसमध्ये ३.६ देखि ४ GPA ल्याउने २१ जना (२३.८%), ३.२–३.६ GPA ल्याउने २४ जना (२७.२%), २.८–३.२ GPA ल्याउने २८ जना (३१.८%), २.४–२.८ GPA ल्याउने ९ जना (१०.२%) थिए भने ६ जना (६.८%) नन-ग्रेडेडको सूचीमा परे।
दिवाकर स्मृति माध्यमिक विद्यालयमा परीक्षार्थी संख्या ६४ थियो। तीमध्ये १५ जना (२३.४%) ले ३.६–४ GPA ल्याए। ३.२–३.६ GPA समूहमा २१ जना (३२.८%), २.८–३.२ GPA ल्याउने १३ जना (२०.३%), २.४–२.८ GPA ल्याउने ७ जना (१०.९%) र नन-ग्रेडेडमा ८ जना (१२.५%) रहेका छन्।

प्रतिफलको मूल कारण के?
विद्यालय प्रशासन, शिक्षक, र अभिभावकहरूका अनुसार यस्तो उल्लेखनीय उपलब्धिको पछाडि विद्यार्थीहरूको मेहनत, सकारात्मक प्रतिस्पर्धा, सिकाइमैत्री वातावरण र निरन्तर सहकार्यको योगदान रहेको छ।
माडी नगरमा यसपालिको नतिजाले शैक्षिक स्तरमा सुधार हुँदै गएको संकेत दिएको छ। स्थानीय तहदेखि विद्यालयसम्मको सहकार्यलाई अझ सुदृढ बनाउँदै जान सकिए अझ उत्कृष्ट उपलब्धिहरू सम्भव हुनेमा सरोकारवालाहरू ढुक्क देखिन्छन्।