✍️ रेशम सापकोटा / पत्रीकाप्रेस
माडी, चितवन — माडी क्षेत्रको बघौंडा गाउँमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भोलि (असार १५ गते) विशेष कार्यक्रमसहित मनाइँदैछ। “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आयोजना हुने यो महोत्सव बिहान ७:३० बजे बाट सुरु हुने आयोजकले जनाएका छन्।
कार्यक्रम माडी नगरपालिका र ‘खाद्यका लागि कृषि अभियान’को संयुक्त आयोजनामा सञ्चालन हुने छ। आयोजक संस्थाहरूले यस महोत्सवमार्फत कृषिप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै परम्परागत कृषि संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन्।
नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस को रूपमा मनाइन्छ। यो दिन किसानहरू खेतमा उत्रेर रोपाइँ गर्छन्, हिलोमा रमाइरहन्छन् र दही–च्युरा–केराको परिकार खाँदै श्रम र उत्पादनको उत्सव मनाउँछन्। माडीका किसानहरूका लागि यो दिवस परम्परा र जीविकोपार्जन दुवैको समन्वय हो।
धान दिवसकै अवसरमा माडी क्षेत्रका अन्य स्थानहरूमा पनि युवा समूह, कृषक महिला समूह र सहकारी संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। कतिपय ठाउँमा परम्परागत लोकगीत, नाचगान, सामूहिक रोपाइँ र खाजाको कार्यक्रमसमेत आयोजना गरिनेछ।
माडी केवल खेतीपातीको भूमि होइन, यहाँको खेतबारीमा पसिनासँगै सपना पनि उम्रिन्छन्। धान दिवस जस्ता अवसरहरूले यही श्रमको सम्मान गर्दै कृषिमा आत्मनिर्भरता र सम्भावनाको बीजारोपण गरिरहेका छन्।