रेशम सापकोटा — पत्रीका प्रेस
भरतपुर, २० असार ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै समाजमा सकारात्मक प्रभाव छोड्ने उद्देश्यले भरतपुरस्थित पपुलर युनिसेक्स सैलुनले यति बेला दैनिक विविध जनकल्याणकारी अभियानहरू सञ्चालन गर्दै आएको छ। सिप, सेवा, सरसफाइ र समर्पणको मूल मन्त्र बोकेर अघि बढिरहेको यो सैलुनले व्यवसायिक कार्यलाई सामाजिक सेवासँग जोड्दै प्रेरणादायी गतिविधिहरू गरिरहेको छ।
यही अभियानको निरन्तरतामा, आज इच्छाकामना गाउँपालिका–७, खेतबारीमा रहेको श्री आधारभूत विद्यालय खेतबारीमा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विद्यालयका ९० जना विद्यार्थीहरूलाई निःशुल्क कपाल काट्ने सेवा प्रदान गरियो।
कार्यक्रमको अवसरमा विद्यालय परिसरमा सरसफाइ तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। सरसफाइ र हरियालीको सन्देश बोकेको यस अभियानले विद्यार्थीहरूमा व्यक्तिगत स्वच्छता, वातावरणप्रेम र सामाजिक चेतनाको भावनालाई अझ सशक्त बनाएको देखिएको छ।
कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूले व्यक्तिगत सरसफाइ, विद्यालयको स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन र व्यवहारिक अनुशासनको महत्त्व बारे विद्यार्थीहरूसँग संवाद गरे। उनीहरूले अध्ययनसँगै व्यवहार, सोच र स्वच्छ जीवनशैलीले जीवनको गुणस्तर बढाउने कुरामा जोड दिए।
कार्यक्रम संयोजक तथा पपुलर युनिसेक्स सैलुनका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद)का अनुसार, “हामीले व्यवसायलाई केवल आम्दानीको माध्यम नभई समाजसेवाको एउटा प्लेटफर्मको रूपमा पनि लिएका छौं। समाजलाई केही दिन सकियो भने त्यो नै साँचो सन्तुष्टि हो।” उनका अनुसार, सैलुनले हालसम्म ५४०० भन्दा बढी व्यक्तिहरूलाई निःशुल्क सेवा प्रदान गरिसकेको छ।
सैलुनले विद्यालय, कलेज, समुदाय र संस्थाहरूमा पुगेर सीप विस्तार, आत्मनिर्भरता, सरसफाइ, वृक्षारोपण, मानसिक स्वास्थ्य र सकारात्मक सोचको प्रवर्द्धन जस्ता विषयमा निरन्तर अभियान सञ्चालन गर्दै आइरहेको छ।
पपुलर युनिसेक्स सैलुनले व्यवसाय र समाजबीचको सन्तुलन कायम गर्दै समाजमा सकारात्मक रूपान्तरण ल्याउने कार्यलाई निरन्तरता दिँदै आइरहेको छ। यस प्रकारका अभियानहरूले समाजमा व्यावसायिक उत्तरदायित्व र सामाजिक सशक्तिकरणको नयाँ परिभाषा कोरेको छ।