1.भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै
नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरूमाथिको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ ।जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेकामाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।
2.राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।
3.नेपाल र अमेरिकाबिच व्यापार एवं लगानीसम्बन्धी सम्झौतालाई निरन्तरता
नेपाल र अमेरिकाबिच व्यापार एवं लगानीसम्बन्धी सम्झौतालाई निरन्तरता दिन आग्रह गरिएको छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाबिचको व्यापार तथा लगानी कार्य ढाँचा सम्झौता अन्तर्गतको व्यापार तथा लगानी परिषद् (टिफा काउन्सिल) को शुक्रबार काठमाडौँमा सम्पन्न छैटौँ बैठकले त्यसलाई निरन्तरता दिने छलफल गरेको छ ।
4.शंकर पोखरेलको रवि लक्षित टिप्पणी- ‘पपुलिस्ट’ कुरा गर्ने र छोएरै उपचार गर्छु भन्नेबीच के अन्तर ?
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ आएका दलरहरूले ठीक र बेठीक छुट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेको टिप्पणी गरेका छन् । सोमवार बिहान फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले नीति र उद्देश्यविहीन नयाँहरू पपुलिस्ट पोलिटिक्समा लागेको टिप्पणी गरेका हुन् ।
5.बालकृष्ण पक्राउको १२औं दिनमा श्रीमान् भेट्न हिरासत पुगिन् मञ्जु
काठमाडौं । बालकृष्ण खाण पक्राउ परेको १२औं दिनमा पत्नी मञ्जु श्रीमान्लाई भेट्न हिरासत पुगेकी छन् । उनले आज बिहान काठमाडौं प्रहरी परिसर पुगेर श्रीमान्लाई भेटेकी हुन् ।
परिसरमा बालकृष्णलाई राखिएको कोठैमा प्रहरीले मञ्जुलाई प्रवेश दिएको थियो । उनीहरूबीच पाँच मिनेटजति कुराकानी भएको स्रोतको भनाइ छ । बालकृष्णलाई परिसरका डीएसपीको कार्यकक्षभित्र रहेको एउटा कोठामा राखिएको छ । त्यही कोठामा श्रीमान्-श्रीमतीको भेट भएको छ ।
6.विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ ।
तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उहाँले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउनुभयो । घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर पाउने उल्लेख गर्नुभयो ।
7. ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको लगानी जुटेको छ
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्नेछ ।
जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।
8.ओलीलक्षित माधवको टिप्पणी- बनिसकेको सरकार हातबाट किन फुत्कियो ? सत्तोसराप गरेर हुँदैन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो समीक्षा गर्न आग्रह गरेका छन्।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले ओलीलाई लक्षित गर्दै यस्तो सुझाव दिएका हुन्।सबै एकजुट भए देश बनाउन सक्ने उल्लेख गर्दै एकले अर्कालाई घोचपेच नगर्न सुझाए।
9.योगेशलाई देवेन्द्रको जवाफ- शब्दकोश हेर्नुहोला, मानिसले लडेको युद्धलाई के भनिन्छ ?
नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने स्पष्ट पारेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन् ।
10.दश महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।